अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोरङको रंगेली नगरपालिका–५ सतारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–९ डाईनिया बस्ने २२ वर्षीय संञ्जु कुमार मण्डल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले को.१ प ५७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेटसहित प्रहरीले शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु सोरू गाउँपालिका–९ बस्ने २६ वर्षीय प्रकाश मान शाही रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
