अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सुनसरी र बारा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ८० मिलिग्रामसहित बुधबार दिउँसो सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय क्षिरिङ्ग लामासमेत ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले क्षीरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहित सोही उपमहानगरपालिका–९ बस्ने २० वर्षीय दिप तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश १–०२–००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैथरी, प्रहरीले बारा, सुवर्ण गाउँपालिका–७ संफुलवा र चौरहियाको बिचबाट करिब २५ किलोग्राम गाँजा बुधबार राति बरामद गरेको छ । प्रहरी चौकी बडकी फुलवरिया र बिओपि सशस्त्र बेसक्यामप संफुलवाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ ५ जना ब्यक्तिहरुले पछाडी भिरेको झोला फाली भागेपश्चात प्रहरीले उक्त झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
