सोह्रश्राद्ध आज विधिवत् सकिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् सकिँदैछ ।
आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा डा.देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र वडादसैँ पर्व पछि सरेको हो । पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ ।
