प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
आजकै बैठकमा सभामुख देवराज घिमिरेले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
