कांग्रेसद्वारा असोज २९ गतेभित्र महासमिति सदस्य चयन गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा यही २९ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।
१४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ गतेसम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था रहेको छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् ।
एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकांशमा प्रतिनिधि छनोट भइसकेका छन् । दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येमा केहीमा कुनै क्षेत्रमा छनोट भइसकेको छ भने कतिपयमा बाँकी छ ।
