राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

तु खबर संवाददाता
२०८० आश्विन १२,शुक्रबार १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी असोज १५ गते उक्त रकम बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो । विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ ।

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ ।

ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ र कूल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।

खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।