कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।
उक्त बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा गत साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुनेछ ।
यस्तै, कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४ र २५ तथा असोज ३ गते भव्यताका साथ बीपी साहित्य महोत्सव बनाएको थियो ।
यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्ने कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए ।
कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।
कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ ।
