बागमती प्रदेश सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० भाद्र २९,शुक्रबार ०९:०३

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा विभिन्न विधेयकमाथि दफाबार छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेको थियो । उक्त बैठकले प्रदेश सभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

यस्तै, उक्त बैठकमा चार वटा विधेयक पेश गरिएकोमा तीन वटा विधेयकमाथि सौद्धान्तिक छलफल भएको थियो । सो बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश संचारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनि छलफल भएको थियो ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव टेबुल गरेका थिए । ती विधेयकमा भने छलफल भएन । उक्त विधेयकमाथि आज बस्ने प्रदेश सभामा छलफल हुने प्रमुख सचिव खड्काले बताए ।