अमेरिकामा न्युयोर्कका मेयरले नेपालको झण्डा फहराउने

तु खबर संवाददाता
२०८० भाद्र २६,मंगलवार १८:१२

न्युयोर्क । संविधान दिवसको अवसर पारी अमेरिकाको  न्यूओर्क सिटीका मेयर एरिक आडम्सले नेपालको ८ फिट अग्लो झण्डा फहराउने भएका छन् । अमेरिकामा रहेर सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रमा नेपाली समूदायले पुर्याएको योगदानको सम्मानस्वरुप मेयर आडम्सले नेपालको झण्डा फहराउन लागेका हुन् ।

न्युयोर्क सिटीको म्यानहटनमा सेप्टेम्बर २० मा आयोजना हुने विशेष कार्यक्रममा नेपालको झण्डा फहराइने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । म्यानहटनको वल्र्ड ट्रेड सेन्टर नजिकै वाल स्ट्रीटमा रहेको चार्जिङ बुलको ठिक अगाडि अवस्थित बलिङ ग्रिन पार्कमा झण्डा फहराइने भएको हो ।

विहान ९ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन सबैलाई नेपालीपन झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।

झण्डा फहराउने कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । हालसम्म अमेरिकामा रहेका ३ दर्जन नेपाली संघ संस्थाहरु सहयोगी संस्थाका रुपमा आइसकेको छन् । अन्य नेपाली संघसंस्थालाई पनि सहयोगी संस्थाका रुपमा सहभागी हुन आव्हान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यो कार्यक्रम सम्पूर्ण नेपाली समुदायको सम्मानका लागि आयोजना हुन लागेको भन्दै सबै नेपाली समुदाय र संघ संस्थाले अपनत्व अनुभव गरेर कार्यक्रम सफल बनाउन भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका अध्यक्ष तथा क्वीन्स डिस्ट्रिक्ट एटोर्नीका दक्षिण एसियाली सल्लाहकार श्याम कार्की र कार्यकारी निर्देशक श्रेया तुलाधरले न्युयोर्क सिटीका मेयरबाट नेपाली समुदायलाई प्राप्त सम्मान विगत लामो समयदेखि नेपाली समुदाय र समुदायका अग्रजहरुको योगदानको प्रतिफल रहेको भन्दै खुसी व्यक्त गरे ।

कानुन व्यवसायी तथा अमेरिकामा नेपाली समूदायका पहिलो वकिल खगेन्द्र जीसीले अमेरिकाले सम्पूर्ण नेपाली समूदायको सम्मानका लागि आयोजना गरेको यस कार्यक्रमलाई सफल बनाउन नेपाली समूदायको भूमिका महत्वपूर्ण हुने बताए ।

मेयर एरिक आडम्सले फहराउने नेपालको झण्डा अर्को झण्डा फहराउने कार्यक्रम नहुन्जेलसम्म पार्कमा फहराइरहनेछ । झण्डासँग म्यानहटन घुम्न जान चाहने जो सुकैले पनि तस्वीर खिच्न पाउने व्यवस्था मिलाइने भएको छ ।