बीपीको ११० औं जन्मजयन्तीको अवसरमा सालिक अनावरण

तु खबर संवाददाता
२०८० भाद्र २४,आईतवार १५:४९

मकवानपुर । जननायक विश्वेश्वर प्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबार हेटौंडामा अर्धकदको सालिक अनावरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बीपी बाटिकास्थित निर्माण गरिएको उनको सालिक नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायतका नेताहरुले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

साथै सो अवसरमा बाटिका परिसरमा वृक्षरोपणसमेत गरिएको छ । अनावरण कार्यक्रम कांग्रेस मकवानपुरको आयोजना तथा बीपी विचार समाज मकवानपुरको संयोजनमा भएको हो ।

सो क्रममा वरिष्ठ नेता डा. कोइरालाले बीपीको राजनीतिक संस्कार र उनको मार्गदर्शनको चर्चा गरेका थिए ।

यसैगरी, कार्यक्रममा समाजका अध्यक्ष विनोदचन्द्र कोइराला र कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले विपीको अर्थकदको प्रतिमा स्थापना गर्न बागमती प्रदेश सरकारबाट सहयोग भएको भन्दै धन्यवाद दिएका थिए ।

यस्तै, कार्यक्रममा समाजका उपाध्यक्ष प्रदिप कोइरालाले बाटिका निर्माण, प्रवेशद्धार निर्माण र अर्थकदको प्रतिमा निर्माणका लागि विभिन्न चरणमा २२ लाख रुपैयाँ प्राप्त भएको जानकारी गराए ।

कार्यक्रममा समाजका सचिव हरिप्रसाद पौडेल र कांग्रेसका विभिन्न तहका नेताहरुले स्वर्गीय बीपीको चर्चा गरेका थिए ।