वीपीको जन्मजयन्तीमा वरिष्ठ नेता कोइराला हेटौंडा आउने

तु खबर संवाददाता
२०८० भाद्र २२,शुक्रबार १८:०२

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा हुने कार्यक्रममा सहभागी हुन उनी भदौ २४ गते हेटौंडा आउने भएका हुन् ।

जननायक वी.पी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा हेटौंडा उपमहानगरपालिका – ११ स्थित वीपी बाटिकामा निर्माण गरिएको वीपीको अर्धकदको प्रतिमा अनावरण गर्न उनी हेटौंडा आउन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

समाजका उपाध्यक्ष एवम् कांग्रेस बागमती प्रदेश सदस्य प्रदिप कोइरालाका अनुसार सोही दिन वीपीको विचारको सान्दर्भिकताको विषयमा समेत वी.पी विचार विषयक गोष्ठी हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेता डा. कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीतिको विषयमा र नेपाली कांग्रेसको धारणा तथा पार्टीले पछिल्लो समय लिएको नीतिको विषयमा समेत जानकारी दिने बताए । पत्रकार सम्मेलनलाई वी.पी विचार समाजका सचिव हरि पौडेलले सहजिकरण गरेका थिए ।