कांग्रेस अनुशासन समितिद्वारा उजुरीमाथि छानबिन

तु खबर संवाददाता
२०८० भाद्र १९,मंगलवार १६:२९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया सुरु गरेको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया सुरु गरेको हो ।

कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३०० उजुरी परेको छ ।

अनुशासन समितिले कार्यविधि नै बनाएर उक्त उजुरीमाथि ‘फास्टट्र्याक’ कारबाही अगाडि बढाउने निर्वाचन समितिका संयोजक आनन्द ढुंगानाले बताए । भदौ ५ मा अनुशासन समितिले पूर्णता पाएपछि १५–२० जिल्लाको उजुरी हेरेर भ्याएको उनको भनाइ छ ।

गत वर्ष साउनमा ढुंगानाको नेतृत्वमा बनेको अनुशासन समिति सदस्यमा ५ भदौमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला मनोनीत भएका थिए । पूर्णता पाएपछि अनुशासन समितिले ११ भदौमा कार्यविधि बनाएको थियो ।