पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार १६:५५
file-photo

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार निधन भएको पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै न्यौपानेको शोकमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने जानकारी गराएको हो ।

जारी विज्ञप्ती अनुसार, कांग्रेसले भदौ १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने छ ।

भदौ ३ गते आइतबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द हुने छ भने १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने कांग्रेस सचिवालयले जनाएको छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका न्यौपानेको ७२ वर्षको उमेरमा शुक्रबार बिहान ७ बजे काठमाडौंको मध्यवानेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो । न्यौपानेको श्रीमती र दुई छोरा छन् ।