खाद्यान्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लेख्यो भारतलाई पत्र
काठमाडौँ । नेपाल सरकारले भारतसँग १ लाख ५५ हजार टन खाद्यान्न उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ ।
भारतले निर्यात प्रतिबन्ध नीति कार्यान्वयन गर्न सक्ने भन्दै नेपाली बजारमा आपूर्ति प्रभावित हुन नदिन सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो ।
उद्योग वाणिज्य, तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको भएता पनि त्यसबारे औपचारिक जवाफ भने आइसकेको छैन ।
भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो । भारतको निर्णयको असर नेपाली बजारमा देखिन सक्ने भएकाले परिमाण तोकेर खाद्यान्नका आयातका लागि आग्रह गरिएको मन्त्री रिजालले बताएका छन् ।
भारतले निर्यात प्रतिबन्ध घोषणा गरेको १० दिनपछि १४ साउनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले खाद्यान्नको आपूर्ति सहज बनाउने निर्णय गरेको थियो । मन्त्रालयमा भएका छलफलहरुमा खाद्यान्न व्यवसायीले असोजसम्मलाई पुग्ने धान र चामल मौज्दात रहेको जानकारी गराएका थिए ।
