साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो
काठमाडौँ । साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोली आज स्वदेश फिर्ता भएको छ । नेपालको लागि २८ बर्षे इतिहासमा यो उपाधी सबैभन्दा ठुलो हो । सोमबार बिहान मुख्य प्रशिक्षक अब्दुल्ला अम्मुताइरी र डिफेन्डर रोहित चन्दविनासहितको टोली ३७ दिनपछि नेपाल फर्किएको हो । अल्मुताइरीको नेतृत्वमा रहेको नेपालको टोली माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा पहिलो पटक फाइनलसम्म पुग्न सफल भएको थियो ।
तर, फाइनलमा नेपाल भारतसंग ३–० गोल अन्तरले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनिसकेको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायतले स्वागत गरेका हुन् ।
सो अवसरमा नेपाली फुटबल समर्थकको समेत बाक्लो उपस्थिति रहेको थियो । राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि प्रशिक्षक अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए। तर, उनले ग्यालेक्सी फोर केमा दिएको अन्तर्वातामा ६ महिनाभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको बताएका छन्।
