भारतीय ठूला दरका नोट चल्न दिने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा भारतीय रुपैयाँ (ठुला दरका नोट) चल्न दिने निर्णय गरेको छ । २५ हजार रुपैयाँको सिमा निर्धारण गरेर २ सय र ५ सयका भारु चल्न दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
भारतीय ठूला दरका नोटमाथिको प्रतिबन्ध हटाएर सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका नोटहरुमात्र चल्न दिने निर्णय सरकारको छ । यो निर्णयसँगै नेपालबाट भारत जाँदा र भारतबाट नेपाल आउँदा २५ हजार रुपैयाँसम्मका भारतीय रुपैयाँ ल्याउन र लैजान पाइने छ ।
विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउनरलैजान पाउने व्यवस्था भारतीय रिजर्भ बैंकले गरेको थियो । भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरको नोट नेपाल ल्याउन लैजान बन्देज गरेको थियो ।
भारतले नोटबन्दीपछि भारतीय नोट नलिएको र अहिले पनि नेपाल राष्ट्र बैंकमा ७४ करोड रुपैयाँ यत्तिकै थन्किएको पत्रकार गजेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । करोडौं क्षति व्यहोरेको नेपालले फेरी भारतीय नोट चल्न दिएको छ ।
