बागमतीमा नयाँ मन्त्रालय स्थापित, चित्रकारले पाए जिम्मेवारी

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार १६:४३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारमा आइतबार नयाँ मन्त्रालय स्थापित गरिएको छ । प्रदेशमा ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको हो ।

नयाँ मन्त्रालयको रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मन्त्री रामकृष्ण चित्रकारलाई तोकिएको छ ।

चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए । उनी नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेता हुन् ।

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो ।

यद्यपी माओवादी केन्द्रले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको हो ।