प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधि सभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकिने भन्दै भोलि साउन १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको प्रदेश सभाका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै जानकारी गराए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।
यसअघि साउन १० मा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।
