सोमबार स्थगित लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २० औं बैठक आज बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, बैठक सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ ।