बुधबार स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १६:२६

काठमाडौं । नेपाल कांग्रेसको आज स्थगित भएको केन्द्रीय समितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिए ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।