हेटौंडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मापनमा सुधार

तु खबर संवाददाता
२०८० असार २२,शुक्रबार ०९:५४

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मापनमा बिगतको तुलनामा चालु आर्थिक वर्षमा सुधार रहेको पाइएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आर्थिक वर्ष २०७९/०८० मा ८९ प्रतिशत अंक ल्याएको हो । अस्पतालले गत आवमा ८० प्रतिशत अंक ल्याएको थियो । यद्यपी अस्पतालको न्यूनतम सेवा मापदण्ड मापन गत आवको भन्दा चालु आवमा ९ प्रतिशत अंक बढी सुधार रहेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. किशोर बन्जाडे नेतृत्वको पर्यवेक्षक टोलीले गरेको मापन अनुसार अस्पतालले प्रशासन र व्यवस्थापनतर्फ ९२ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९० प्रतिशत, अस्पताल सहयोग सेवातर्फ ८३ प्रतिशत अंक ल्याउँदै समग्रमा ८९ प्रतिशत ल्याएको हो ।

अस्पतालले फोहोर व्यवस्थापन, सुरक्षा, स्टोर, क्यान्टिन, फार्मेसी सेवा र थेरापी सेवा सुधार गर्नुपर्ने सूचकले देखाएको जनाइएको छ ।