कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बस्न लागेको हो ।
पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् । कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको छ ।
यस्तै, वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन बनेको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।
दुई दिन संचालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि विभिन्न तीन वटा एजेण्डामाथि छलफल हुनेछ ।
