जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १०:०८

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) ले बजेटबारे निर्णय गर्नका लागि संसदीय दलको बैठक बोलाएको छ ।

बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

दुवै पार्टीले आ–आफ्नो संसदीय दलको बैठक बोलाएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । बैठक आज बिहान साढे १० बजे संसद् भवनमा बस्नेछ ।

सत्तारुढ नेपाली कांग्रेसले यसअघि नै आफ्ना सांसदहरूलाई आजको बैठकमा अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।