उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार ०७:५१

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेष्ठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो ।

उमेर हदको व्यवस्था निलम्बनप्रति नेता/कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपछि अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्म प्रतिरक्षामा देखिएका छन् । कार्यकर्ताले संगठनमा युवा चाहिने तर नेतृत्व चाहिँ ७० वर्षपछिको हुनु भन्दै प्रश्न गर्न थालेपछि मूल नेतृत्व प्रतिरक्षामा लागेको हो।

विधान अधिवेशन सकिएको दुई वर्ष नपुग्दै एमाले सचिवालय बैठकले ७० वर्ष उमेर हदको व्यवस्था निलम्बन गरेको हो । यो व्यवस्था निलम्बन गरिएपछि एमालेमा ७० वर्ष उमेर काटेका नेताहरू उत्साही देखिएका छन् ।