मौलिक हक र मानव अधिकारको प्रत्याभूति गर्न प्रदेश सरकारको भूमिका गतिशील’

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १६:०६

मकवानपुर । बागमती प्रदेश प्रमुख यावद चन्द्र शर्माले नेपालको संविधानमा मौलिक हक तथा मानव अधिकारको प्रत्याभूति गर्न प्रदेश सरकारको भूमिका गतिशील हुनुपर्ने बताएका छन् ।

१६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा बागमती प्रदेश सरकारको मूल समारोह समितिद्वारा आज हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।

उनले जनताको आर्थिक समृद्धिको लागि प्रदेशमा सरकारले दलगत स्वार्थभन्दा माथि उठेर कार्यक्रम तर्जुमा गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले प्रदेशमा सुशासन ल्याउन र बढ्दो भ्रष्टाचारलाई नियन्त्रणमा ल्याउन सके आम जनतामा प्रजातान्त्रिक गणतन्त्रप्रति जनताको आस्था वृद्धि हुने र कुनै पनि पक्षले बाह्य हमला गर्दा गणतन्त्रको विकल्प खोज्न नसकिने दृढता व्यक्त गरे ।