आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ भने देशका बाँकी भ–ूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी तीन प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
