सहयोगी मन नेपालद्वारा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग

मकवानपुर । समाज सेवामा क्रियाशील संस्था सहयोगी मन नेपालले साहित्य संगम मकवानपुरलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईंले संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेलाई सो मेसिन उपलब्ध गराएका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको समेत उपस्थिति रहेको थियो ।
मेयर लामाले महिला दिदीबहिनीहरुलाई महिनावारी भएको समयमा सो मेसिनमार्फत् सेनेटरी प्याड लिन सहज हुने भन्दै सहयोगी मन नेपाललाई धन्यवाद दिइन् ।
मेसिन ग्रहण गर्दै संगमकी अध्यक्ष अनिता न्यौपानेले साहित्य संगमको कार्यालय परिसरमा मेसिन जडान गरिने बताइन् ।
संगम कार्यालयमा दैनिकजसो विभिन्न कार्यक्रम हुने र महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहने भएकाले सो मेसिन प्रभावकारी हुने बताइन् ।