सहयोगी मन नेपालले मनायो तेस्रो स्थापना दिवस

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार ०७:४३

मकवानपुर । सहयोगी मन नेपालले आज एक कार्यक्रमका बिच आफनो तेस्रो स्थापना दिवस मनाएको छ । तेश्रो स्थापना दिवसका अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईले सहयोगी मन सबैले सहयोग पाउने साझा संस्थाको रुपमा स्थापित भएको बताए । उनले संकट, महामारी, आपतबिपतका बेलामा गरीब दिन दुखीहरुमा सेवा गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए ।

हामीले जुन उद्देश्य लिएर सहयोगी मन स्थापना गरेका थियौँ सोही अनुसार कामहरु गर्न सफल हुनुमा स्थानिय प्रशासन, वडा कार्यलय, राजनितिक दल, संचारकर्मीहरु लगायतको सहयोगले रहेको अध्यक्ष चौलागाईले बताए । उनले सहयोगी मन नेपाललाई देशैभर शाखा विस्तार गर्ने क्रममा आफुहरु रहेको बताए ।

जिल्ला समन्व समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि खुलालले सहयोगी मनले जिल्लामा कोभिड संकटका बेला खेलेको भुमिका उल्लेख्य रहेको बताए । उनले सहयोगी मन नाम जस्तै काम गर्ने परोपकारी संस्था रहेको बताए ।

यस्तै कार्यक्रममा विशेष अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सहयोगी मन नेपाल स्थानिय प्रशासन ऐन अनुसार सहयोगी भावानाका रुपमा समाजमा देखिएको बताउँदै यसले खेलेको भूमिकाको उच्च मुल्यांकन हुने बताए । उनले संकटका बेला जिल्ला प्रसासन संगको समन्वयमा धेरै सामाजिक कार्यहरु गरेको भन्दै अझ सक्रियता बढाउन आग्रह गरे ।

आफ्नै खर्चमा सामाजिक सेवामा अग्रसर हुँदै आएको सहयोगी मन नेपाल देशैभर स्थापना हुन सफल रहोस् भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले शुभकामनासमेत दिए । कार्यक्रममा अख्तियार दुरपयोग अनुसान्धान आयोग हेटौंडाका उपसचिव अर्पणनाथ शर्मा, मकवानपुर उद्योग वाणीज्य संघको अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका को अध्यक्ष मणीराज गौत्तम ,राप्रपा मकवानपुरको अध्यक्ष गुरुप्रसाद सापकोटा, कांग्रेस नेता आनन्दराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।