राप्रपा नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो साबित भएको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।
राप्रपा नेपालले प्रदेश संरचना खारेजीको माग गरेको छ । सोहीअनुसार पार्टी अन्तर्गतका प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने निर्णय गरेको प्रवक्ता वसन्त मानसिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश तहको सभा र सरकार सम्बन्धी वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ । प्रदेश तहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेश तहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ ।’
यस्तै, बैठकले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही गर्न र धर्म परिवर्तन रोक्न माग गरेको छ भने हाल विद्यमान मिश्रित निर्वाचन प्रणालीको सट्टा संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्न पनि बैठकले माग गरेको छ ।
बैठकले आगामी २०८० फागुन ७, ८ र ९ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गर्दै पार्टीको संगठन विस्तारलाई युद्धस्तरमा कार्यान्वयन गर्ने, देशको सम्पूर्ण ७५३ वटै पालिकाहरुमा पार्टीको इकाई गठन गर्ने तथा क्रमशः वडा तहमा समेत इकाई गठन कार्यलाई तीव्रता दिने निर्णय गरेको अधिकारीले जानकारी दिए ।
