जसपाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
सो बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । जसपाले अझै एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ । बैठकमा सरकारमा अझै एक जना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरामा छलफल हुने प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
यस्तै, आजको बैठकमा जसपाको विधान अधिवेशनबारे पनि छलफल हुनेछ । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकेको छ ।
