संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल हुने
काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त बजेटमाथि छलफल हुने भएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, आजबाट बैशाख २७ गतेसम्म प्रि बजेटमाथि छलफल हुनेछ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (बैशाख २४ गते) नै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसैमा छलफल हुन लागेको हो ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही बैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
