प्रतिनिधि सभा बैठकमा ४ दिनसम्म प्रि–बजेट छलफल हुने

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार १५:५१
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेट पूर्वको छलफल (प्रि–बजेट छलफल) चार दिनसम्म हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि–बजेट छलफल चार दिन चलाउने तय गरेको हो ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँच÷पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधि सभामा प्रि–बजेट छलफल सकिनेछ ।

प्रि–बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।