नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित
काठमाडौं । एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ । भारी वर्षाका कारण खेल ‘रिजर्भ डे’ सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान) ले जानकारी दिएको छ ।
नेपाल र युएईबीचको फाइनल खेल भोलि आज स्थगित भएको अवस्थादेखि सुरु हुने क्यानले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो ।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे ।
त्यस्तै, मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।
