आज यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
यस्तै, भोलि शनिबार भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
