माओवादी केन्द्रद्वारा पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधि सभाका सांसदहरु पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रिय सभाका सांसदहरु जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्य दल गठन गरेको हो ।
अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको पार्टीको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । कार्यदललाई १ महिनाभित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।
