उप–निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण

तु खबर संवाददाता
२०७९ चैत्र २२, बुधबार १६:३७

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ ।

आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २९ लाख रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।