उप–निर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन

तु खबर संवाददाता
२०७९ चैत्र २२, बुधबार ०९:२१

काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज छानबिन हुँदैछ ।

निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ अन्तिम निर्णय गरिने आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उप–निर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

बैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उप–निर्वाचन हुने भएको हो ।