तनहुँ–१ र बारा–२ को उप–निर्वाचनका लागि २६ दल दर्ता
काठमाडौं । तनहुँ–१ र बारा–२ मा हुने प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि २६ दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले उप–निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत्र ८ देखि १२ सम्मका लागि तोकिएको समयसिमा उक्त दल दर्ता भएको जानकारी गराएको हो ।
यस्तै, नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन–२ मा पनि बैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ । चितवन–२ मा १८ दल भएका छन् ।
तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ । साथै उप–निर्वाचनका लागि तोकिए बमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बैशाख १० का लागि आयोगले उप–निर्वाचनको मिति तोकेको हो ।
