उप–निर्वाचनमा गठबन्धन नगर्ने एमालेको निर्णय

तु खबर संवाददाता
२०७९ चैत्र १३, सोमबार १८:१५
file-photo

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने तीन वटै क्षेत्रको उप–निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । बैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा हुने उप–निर्वाचनमा गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उपनिर्वाचन हुने तीन वटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव गुरुङले बताए । उनले तीन वटै उप–निर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको जानकारी गराए । चैत्र २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङको भनाइ छ ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त खाली पदमा निर्वाचन हुन लागेको हो ।