लागूऔषध मुद्दामा फरार मकवानपुरका थिङ पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार एक जनालाई आज बिहान पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ लुङ्बा टोलबाट लागूऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा फरार प्रतिबादी स्थानीय मेम्बर चोक बस्ने ३१ वर्षीय साजन थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, थिङलाई प्रहरी चौकी पदमपोखरीबाट प्रहरी नायव निरीक्षक दमन तामाङको कमाण्डमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागूऔषध नोरफिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल (प्रति एम्पुल २ एमएल) बरामद गरेको छ ।
पक्राउ परेका उनलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
