स्ववियु निर्वाचन : मकवानपुरको कुन क्याम्पसमा कस्को नेतृत्व ?

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १०:२२

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको सबै क्याम्पसमा मत गणना सम्पन्न भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ८ वटामध्ये निर्वाचन भएको ७ वटै क्याम्पसमा मत गणना सम्पन्न भएको हो ।

मत गणनाको अन्तिम परिणाम अनुसार, जिल्लाको ५ वटा क्याम्पसमा अनेरास्ववियू प्यानलका उम्मेदवार र २ वटा अखिल क्रान्तिकारी प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का छोइसाङ लामा (तामाङ), वन विज्ञान अध्ययन संस्थान फरेस्टीमा अखिल क्रान्तिकारी प्यानलबाट नेवि संघका दिपेन्द्र कंडेलले स्ववियुको नेतृत्व गर्ने भएका छन् ।

यस्तै, अनेरास्ववियु प्यानलबाट हटिया जनप्रिय बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का मुना गोले, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल, मनहरी बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका कुमार घिसिङ् , निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका सरोज अर्याल र हेटौंडा क्यापसमा अनेरास्ववियूका अभि मैनालीले स्ववियूको नेतृत्व गर्ने भएका छन् ।

यस्तै, जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी संगठनबीच सहमतिमा यसअघि नै स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।

जिल्लामा ती सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धामा उत्रिएका थिए । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको थियो भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको बनाएको थियो ।