आज चट्याङसहित वर्षाको सम्भावना

२०७९ चैत्र ६,सोमबार ०९:३१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ ।
सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, भोली मंगलबार र बुधबार पनि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।