प्रजातान्त्रिक युवा संगठनद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । रासायनिक मलमा अनुदान कटौती गर्दा किसानहरु मर्कामा परेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।
संगठनका संयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्याउने किसानहरुको ढाड सेकिने गरी मलमा अनुदान कटौती गर्नुको साथै भारी मूल्यवृद्धी गरेको प्रति आपत्ती जनाए ।
‘किसानको सधैंको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मुल्यवृद्धी गरिनुलाई ‘किसानमारा’ नीतिको रुपमा लिन सकिन्छ । यसबाट सत्तासीन वर्गले किसानलाई हेर्ने दृष्टिकोण उदांगो भएको छ । आफूलाई परवर्तनकारी तथा अग्रगमतका हिमायती भन्ने सत्तासीनहरुले आफ्नो सेवा सुविधालाई बढाउदैँ लाने, ऋण लिएरै वा ब्याज तिरेरै भएता पनि तलब भत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्न कार्य अत्यन्त निन्दनीय छ र यो कुकृत्यप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले किसानको ढाडमा हथौडा हान्ने तथा घाँटी रेट्ने गलत नीति अवलम्वन गरेका कारण कृषकहरु आत्महत्यासम्म गर्न बाध्य भएको उल्लेख गर्दै संगठनले कृषकहरुको श्रम तथा जीवनरक्षाको माग गरेको छ ।
‘कृषि क्षेत्रलाई कमजोर सिद्ध गरी आयातलाई थप प्रवद्र्धन गर्ने निहित स्वार्थ प्रेरित किसानमारा कार्यको हामी घोर विरोध गर्दछौँ र किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनुपर्ने समयमा यस क्षेत्रप्रतिको राज्यको असंवेदनशील, गैरन्यायिक तथा हेपाहा व्यवहारको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ र नेपाल सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
संगठनले कृषिप्रधान देशमा खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात, व्यापारघाटा न्यूनिकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा बुझ्न सरकारलाई आग्रहसमेत गरेको छ ।
जनताको समस्या उपर नजरअन्दाज गरिरहे सरकारविरुद्ध कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने संयोजक केसीले बताए ।

