उपराष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ फाल्गुन २८, आईतवार ०८:४२

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि हिजो जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । ९ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना र जनमत पार्टीबाट एक गरी ३ जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ ।