स्ववियु निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी दर्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी भएको छ ।
शनिबार उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरी नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए ।
स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो । शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् ।
उम्मेदवारको नामावली उपर दाबी विरोध आईतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
स्ववियु निर्वाचन आगामी चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरीका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।
