बिहीबार ५० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ पुगेको रोकिएको थियो भने कूल १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको थियो ।
साथै नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावर उपसूचकको ३.५९ प्रतिशत र फाइनान्स उपसूचक ३.४६ प्रतिशतले बढेको छ ।