राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति पदका लागि ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् भने नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।
बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेश सभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मात्र मतदान गर्न पाउने निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए ।
मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ । निर्वाचन अधिकृत शर्माका अनुसार, ४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।
