प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा आज रिट दर्ता भएको छ । प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो । प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए ।
द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
रिट निवेदकलाई कानुनी सहायता दिइरहेका अधिवक्ता ज्ञानेन्द्रराज आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको बताए । ‘यसमा कुनै राजनीतिक दलको संलग्नता छैन, अदालतबाट जे फैसला हुन्छ हामीलाई त्यो स्वीकार्य छ’ उनले भने ।
सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो ।
त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार कानुन व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
