बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यसअघि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।
राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेश शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।
अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार, निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने छ । यस्तै, आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
प्रदेश सभाको बैठक यसअघि गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादनको प्रस्ताव पारित गरेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।
बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
