प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ ।
हतियारसहित चार भारतीय नागरिक पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट प्रहरीले विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिकलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
